अब नयाँ ऐन अनुसार नागरिकता वितरण हुने

काठमाण्डौँ । आइतबार देखि नागरिकता प्रमाणपत्र नयाँ नागरिकता ऐन अनुसार वितरण हुने भएको छ। गृह मन्त्रालयले हिजो शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै नयाँ ऐन अनुसार नागरिकता वितरण सुरू गर्न भनेको हो।

सबै जिल्ला प्रशासनहरूले आइतबारदेखि सोही अनुसार नागरिकता वितरण थाल्ने भएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता ऐन प्रमाणीकरण गरेका थिए।

प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएको नागरिकतासम्बन्धी नयाँ ऐनले पुरानो कानुनमा चार कुरा परिवर्तन गरेको छ।

गृहको परिपत्र अनुसार जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले, आमाको नामबाट मात्र नागरिकता लिनेहरूले र विदेशी बाबुबाट जन्मिएका नेपाली महिलाका सन्तानले पनि नागरिकता पाउने छन्। त्यस्तै, गैरआवासीय नेपालीले राजनीतिक बाहेकका अधिकार प्राप्ति गर्नका लागि पनि नागरिकता पाउने छन्।

नयाँ कानुन अनुसार २०७२ साल असोज ३ गते भन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवैको नेपाली नागरिकता देखाएर १६ वर्ष पुगेपछि वंशजको नागरिकता पाउँछन्।

महिलाले आफ्नो नामबाट सन्तानलाई नागरिकता दिलाउन चार वटा शर्त पूरा गर्नुपर्ने छ। नेपालमै जन्मेको हुनुपर्ने, नेपालमै बसोबास गरेको हुनुपर्ने, बाबुको पहिचान नभएको हुनुपर्ने र बाबुको पहिचान नभएको घोषणा गर्नुपर्ने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button