काठमाडौंका विभिन्न स्थानमा भारी वर्षा, पानी जाने निकास नहुँदा अधिकांश क्षेत्र डुबानमा

काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौंको धोबी खोला कोरिडोर आसपासका क्षेत्र डुबानमा परेको छ । वर्षाका कारण पानी जाने निकास नहुँदा त्यस क्षेत्र डुबानमा परेको हो ।
कोरिडोर आसपासका क्षेत्रका केही घरहरूमा धोबी खोलाको बाढी पसेको छ । निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न बनेको छ । केही घरमा पानी पसेपछि त्यहाँका मानिसको विचल्ली बनेको छ ।

खोला किनाराका सडकमा पानी जमेपछि विहानैबाट सर्वसाधारणको आवागमनमा समस्या भएको छ । पुरै क्षेत्र डुबानमा परेपछि प्रहरीको आग्रहमा आज विहान ४ः३० बजेदेखि ६ः२० बजेसम्म विद्युत काटिएको बानेश्वर नो लाइटले जानकारी दिएको छ ।
धोबी खोला कोरिडोरलाई व्यवस्थित बनाइएको भनिए पनि पानी निकास हुने ठाँउ नभएपछि त्यस क्षेत्र डुबानमा पर्दै आएको छ । त्यसैगरी पुतली सडक क्षेत्रमा पनि डुबान भएको छ ।
गएराति देखि परेको अविरल वर्षाका कारण काठमाडौंको बागमती, विष्णुमती, टुकुचा, धोविखोला लगायतका खोलाहरुमा ठूलो बाढी आएको छ ।

काठमाडौं उपत्यकामा बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टा देखि बर्षा भइरहेको मौसम विभागले जनाएको छ ।
उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्दो हुने,केहि साना नदी, नालाको पानी सडक किनारसम्म आउन सक्ने विभागले जनाएको छ । त्यस्तै बाग्मती नदी खोकना स्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।


त्यसैगरी चितवन जिल्लाको माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको छ ।
सो क्षेत्र भई बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी जानसक्ने भन्दै विभागले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सिन्धुलीको हरिहरपुरगढी र आसपास पछिल्लो ६ घण्टा भारी वर्षामापन भएकोले कोखाजोरखोला लगायतका स(साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने छ । यी क्षेत्र र नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।




