नेपालको विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामाथि आक्रमण

काठमाण्डौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताएका छन् ।
शनिबार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न दिनु नहुने बताए । आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्ने बताए ।
उनले प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने बताए । उनले आज जातिय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, विग्रह फैल्याउने खतराहरू पनि देखिरहेको दाबी गरे ।
श्रेष्ठले समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मूल मन्त्र बनाएको उल्लेख गरे । उनले सरकारले भ्रष्टाचारबिरोधी र दण्डहीनताबिारोधी ठूलाठूला अभियान सञ्चालन गरेको बताए । उनले नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए ।




