संविधान कार्यान्वयनमा देखिएका जटिलताहरु महासमितिको बैठकमा छलफल हुने

ललितपुर – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान कार्यान्वयनका सन्दर्भमा देखिएका जटिलताहरु महासमितिको बैठकमा छलफल हुने बताएका छन्।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा केन्द्रिय कार्यसम्पादन समितिको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

महासमितिको बैठकमा नीति महाधिवेशनले गर्ने कामहरु पनि स्पष्ट गर्ने बताए। संविधान संशोधन वा निर्वाचन प्रणालीमा पुनः समीक्षा गर्ने कुरा पनि महासमितिको बैठकमा छलफल हुने थापाले बताए।

कार्यसमिति बैठकमा नेताहरुले सरकार सञ्चालनका विषयमा सुझाव, चासो, आलोचना गरेको भन्दै त्यसलाई छलफल गर्ने र काँग्रेसले अघिल्लो कार्यसमितिको बैठकबाट गरेका निर्णयहरु सरकारलाई सुनाएकोमा माग पूरा नभएको अवस्था रहेकाले पुनः सरकारलाई स्मरण गराउने पनि उनले बताए।

उनले भने, ‘महासमिति बैठकको मिति तय भएको छ । महासमितिको बैठकमा नीति महाधिवेशनले गर्ने समेत कामहरु गर्ने भएकाले नेपाली काँग्रेसको संविधान कार्यान्वयनका सन्दर्भमा देखिएका जटिलताहरु संघीयता कार्यान्वय लगायतका यावत विषयहरु पार्टीको तर्फबाट जान्छ । संविधान संशोधनको कुरा होस्, चाहे निर्वाचन प्रणालीमा पुनः समीक्षा गर्ने कुरा होस्, यी कुराहरु त्यहाँ जान्छ । कार्तिक २४ गते इकोनोमिक कनक्लेभ गर्छौं । जसमा अर्थतन्त्रमा यो बैठकमा उठेका कुराहरु त्यसमा समीक्षा गर्छौं र महासमितिको बैठकमा लैजान्छौँ।’

‘सरकार सञ्चालनका विषयमा सुझाव, चासो, आलोचना छ । सरकारमा गएका साथीहरुले पनि बताउनुपर्ने कुरा होलान् । त्यसैले एउटा छुट्टै बैठक सरकारमा जानुभएका साथीहरुसँग मात्रै बसेर छलफल गर्छौं । त्यसमा सरकारको काम कारबाहीको बारेमा मात्रै छलफल गर्नेछौँ। सरकारसँग राखेका माग पूरा भएका छैनन्, त्यसमा स्मरण गरेका छौँ र प्रधानमन्त्रीलाई भेटेर ती माग पूरा गर्न आग्रह गर्नेछौँ। सुशासन, सेवा प्रवाहका कुराहरु छन्’, थापाले बैठकपछि भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button