उधौली पर्वले मानव र प्रकृतिको सम्बन्धलाई उजागर गर्छ : राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले किरात समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताएका छन्।

राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ, ‘किराँत समुदायको महान् पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना।’

राष्ट्रपति पौडेलले प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। उनले उधौलीजस्ता चाडपर्वले राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निर्वाह गरेको उल्लेख गरेका हुन्।

‘विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाड पर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको छ,’ राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ। राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा उधौलीजस्ता चाड पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ। यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ।

किरात समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button