टुँडिखेलमा घोडेजात्रा सम्पन्‍न

काठमाडौं – काठमाडौं उपत्यकाको प्रमुख पर्व घोडेजात्राका अवसरमा सोमबार नेपाली सेनाले टुँडिखेलमा घोडेजात्रा समारोह गरी घोडाका विभिन्न खेल कौशल प्रस्तुत गरेको थियो ।

समारोहमा राइड पास, ब्यानर डिस्प्ले, टांगन घोडा दौड, चार्जर घोडा दौड, नेपाली सेना र गैर सैनिकको साइकल दौड, शो जम्प, क्याभली राइड, टेण्ट पेगिङ, क्रस टेन्ट पेगिङ लगायतका घोडचढी कला देखाइएको थियो । त्यस्तै लान्स हिट प्याक, लान्स सुइरो र क्रिज, स्वर्ड एण्ड वाटरमेलन, रेन फ्री जम्त तथा महिला सिक्स वार, भल्टिङ एण्ड एक्रोब्याटिक्स तथा हर्ष पिटी, म्युजिकल राइड, क्रस कन्ट्री, पोनी ले डाउन ड्रिल, हंगेरियन पोस्ट र कम्बाइन्ड फायर जम्प पनि प्रदर्शन गरिएको थियो । समारोहमा डग शो अन्तर्गत विभिन्न रोमाञ्चक कला पनि प्रदर्शन गरिएको थियो ।

सैनिकहरुले घोडा दौडाएर विभिन्न खेल कौशल प्रस्तुत गरेको समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने सैनिकलाई पुरस्कृत पनि गरिएको थियो ।

समारोहमा प्रमुख अतिथि राष्ट्रपतिले म्युजिकल राईडमा प्रथम र द्वितीय हुने उप सेनानी प्रसिद्ध बानिया र उप सेनानी निरोज थापा तथा सो-जम्पमा प्रथम र द्वितीय हुने सह सेनानी अशोक खकुरेल  र प्युठ ओम प्रकाश यादवलाई पुरस्कार प्रदान गर्नुभयो ।

त्यस अवसरमा सम्माननीय उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख उपस्थित हुनुहुन्थ्यो । यस्तै मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका सचिवहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, महामहिम राजदूतहरू, विभिन्न मुलुकका सैनिक सहचारीहरू, सैनिक तथा गैर सैनिक महानुभावहरु, सञ्चारकर्मीहरू एवं सर्वसाधारणबाट समेत घोडेजात्राको अवलोकन भएको थियो ।

प्रत्येक वर्ष कृष्ण औँसीका दिन घोडेजात्रा मनाइँदै आएको छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई सम्हार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button