तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरुपमा सफल : अर्थमन्त्री पुन

काठमाडौँ – तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरुपमासफल भएको अर्थमन्त्री वर्षमान पुनले बताउनुभएको छ ।
सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतसँगको सोमबार विहान भएको ‘साइडलाइन’ बैठकमा उहाँले सम्मेलन सफल भएको बताउनुभएको हो ।
उहाँले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरु उत्साहित भएको र लगानीकर्ता र सरोकारवालाहरुको उल्लेख्य उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको मन्त्री पुनले बताउनुभयो ।
यस्तै मन्त्री पुनले सरकार नीतिगत सुधार र नीतिगत स्थायित्व कायम गर्न तथा काम गर्ने सिलसिलामा आइपरेका समस्या समाधान गरी लगानीे अनुकूल वातावरण तयार गर्न प्रतिबद्ध रहेको सन्देश लगानीकर्तालाई दिन विकास लगानीकर्तालाई आग्रह गर्नुभयो ।
नेपाल दुई ठूला उदयीमान अर्थतन्त्र भएका चीन र भारतकाबीचमा रहेका रहेका कारण नेपालमा स्वदेशी तथा विदेशी लगानीका लागि ठूलो अवसर रहेको बताउनुभयो ।
नेपालको जैविक विविधता तथा प्राकृतिक स्रोतहरुको प्रचुरताका कारण पनि व्यावसायिक सम्भावना उच्च रहेको मन्त्री पुनको भनाइ थियो ।
सम्मेलनको उद्घाटन सत्रमा सरकारका तर्फबाट मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने सन्दर्भमा सिङ्गो देश एकढिक्का रहेको सन्देश विश्वभर प्रवाह भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।



