राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन

मंगलबार- सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलले आज इन्द्रजात्राको अवसरमा हनुमानढोका दरबारमा आयोजना गरिएको जात्रा अवलोकन गर्नुभएको छ। उहाँ नयाँ सडकस्थित जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल हिँडेर जानुभएको थियो।
गत वर्षदेखि राष्ट्रपति पौडेलले जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल यात्रा गर्न थालेका हुन्। गद्दी बैठक पुगेर राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव, र श्रीकुमारीको रथमा दक्षिणा चढाएपछि गणेश, भैरव, र कुमारीको रथयात्रा सुरु भएको थियो।
इन्द्रजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन र नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत मन्त्रिपरिषद्का सदस्य, सांसद, प्रदेशसभा सदस्य, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरू, र स्थानीय तहका जनप्रतिनिधिहरू समेतका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो।
असोज ५ गते शनिबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा चलाइने छ। सोही दिन अपराह्न राष्ट्रपति पौडेलले कुमारीबाट टीका र प्रसाद ग्रहण गर्नुहुनेछ। टीका र प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ।
असोज ५ गते राति १०ः३१ बजे इन्द्रध्वजोपतनपछि इन्द्रजात्रा समापन हुनेछ। इन्द्रजात्रा प्रताप मल्लको शासनकालमा सुरु भएको मानिन्छ। इन्द्रजात्रामा रथयात्राको परम्परा भने राजा गुणकामदेवले प्रारम्भ गर्नुभएको हो। काठमाडौँ उपत्यकामा मनाइने जात्रामध्ये यो सबैभन्दा लामो हो।
वर्षा र सहकालका देवता इन्द्रको आज पूजाअर्चना गरिएको छ। जात्राका अवसरमा लाखे, दशावतार, महाकाली, रामचन्द्र, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको छ।


