कक्षा १२ को परीक्षा आज बिहान ८ बजेबाट देशभर एकसाथ सुरु हुँदै

भक्तपुर,- २१ वैशाख- कक्षा १२ को परीक्षा आज बिहान ८ बजेबाट देशभर एकसाथ सुरु हुँदैछ, र राष्ट्रिय परीक्षा बोर्डले तयारी पूर्ण भएको जनाएको छ।
बोर्ड अध्यक्ष महाश्रम शर्माले सबै तयारी सकिएको जानकारी दिँदै परीक्षार्थीहरूलाई निडर भई परीक्षा दिन आग्रह गर्नुभएको छ। परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा जेठ २ गतेसम्म चल्नेछ। बोर्डले देशभर १,५९० र जापानमा १ गरी कुल १,५९१ परीक्षा केन्द्र तोकेको छ। काठमाडौंमा सबैभन्दा धेरै १६२ र मनाङ-मुस्ताङमा एक/एक केन्द्र तोकिएको हो।
परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, करिब २,००० कर्मचारी, प्रत्येक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी, र २०,००० सुरक्षाकर्मी खटाइएको छ। परीक्षा देशभरबाट नियमिततर्फ ३,९५,९०८ र आंशिकतर्फ १,१५,६१७ परीक्षार्थी गरी जम्मा ५,११,५२५ जना सहभागी हुँदैछन्।
सबैभन्दा कम परीक्षार्थी ४५ जना मनाङबाट र सबैभन्दा धेरै ६८,१३३ जना काठमाडौंबाट सहभागी हुनेछन्। अपांगता भएका विद्यार्थीहरूका लागि विशेष व्यवस्था गरिएको छ भने कारागार र बाल सुधारगृहमा रहेका विद्यार्थीहरूलाई पनि परीक्षा दिने सुविधा छ।
अनुमति बिना परीक्षा केन्द्रमा प्रवेश गर्न पाइने छैन र मर्यादा नपाल्ने अधिकारीहरूलाई तुरुन्तै हटाउने व्यवस्था गरिएको छ। केन्द्रमा मोबाइल फोन लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ, र परीक्षार्थीले स्मार्ट घडी, फोन वा अन्य इलेक्ट्रोनिक उपकरण ल्याउन नपाउने नियम छ (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटर भने प्रयोग गर्न मिल्नेछ)।
परीक्षाको शुद्धता भंग गर्ने कार्यमा संलग्न भएमा शिक्षा ऐन २०२८ अनुसार कानुनी कारबाही हुने बोर्डले स्पष्ट पारेको छ। पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, र उर्दू व्याकरणको परीक्षा हुनेछ।


