आज मौसम आंशिकदेखि सामान्य रूपमा बदली रहने,केही स्थानमा हल्का वर्षा हुने सम्भावना

काठमाडौँ- देशभर आज मौसम आंशिकदेखि सामान्य रूपमा बदली रहने छ। आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, मधेस प्रदेशसहित कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको सम्भावना पनि रहेकोले महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ। ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो, सहरी र तराई क्षेत्रहरूमा डुबान, साना र ठूला नदी-नालामा पानीको सतह बढ्ने, र भूक्षयजस्ता जोखिमहरूबाट बच्न सचेत रहन महाशाखाले सुझाव दिएको छ।
महाशाखाले नदी क्षेत्र नजिकका निर्माण कार्य, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
महाशाखाका वरिष्ठ मौसमविद् रोजन लामिछानेका अनुसार आज राति कोशी, मधेस, र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भन्ने जानकारी उहाँले दिनुभएको छ।
महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। ती पाँच प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ, भने बाँकी प्रदेशका केही स्थानहरूमा पनि यस्तो मौसम हुने अनुमान गरिएको छ।
मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझपछि वर्षा घट्दै जाने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।




