१७ सय सवारी काठमाडौँ भित्रिए

काठमाडौँ- धादिङको झ्याप्लेमा अवरुद्ध पृथ्वी राजमार्ग खुलेपछि करिब एक हजार सात सय सवारी साधन काठमाडौं उपत्यका प्रवेश गरेका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा सडक खुल्नासाथ अलपत्र यात्रुहरु सहित सवारी साधन काठमाडौं आएको जानकारी दिनुभयो। उहाँले आज दिउँसोदेखि काठमाडौंबाट उक्त मार्ग हुँदै सवारी साधन पठाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो।

“आजदेखि काठमाडौं उपत्यकाबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरिनेछन्,” उहाँले भन्नुभयो, “मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक संचालनका लागि गृह मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गर्दै अघि बढिरहेको छ।”

आजै दिउँसो गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको थियो। बैठकमा सुरक्षा निकायका प्रमुखहरुले बाढीपहिरो, डुबान तथा विपद्को बेला गरिएका उद्दार, राहत, घाइतेहरुको उपचार, र अवरुद्ध सडक खुलाउने विषयमा जानकारी गराएका थिए।

प्रवक्ता तिवारीले काभ्रेपलाञ्चोकको बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरुको उद्दार साँझसम्म सम्पन्न हुने जानकारी दिनुभयो। उहाँले भने, “नेपाली सेना र अन्य सुरक्षा निकायको टोलीले हवाई उद्धार र डोरीको सहायतामा यात्रुहरुको उद्दार गरिरहेको छ।”

प्रवक्ता तिवारीले मौसम अझै पूर्ण रुपमा सुधार नभएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। “अवरुद्ध सडक खोल्ने कार्य जारी छ,” उहाँले भन्नुभयो, “तर पहिरोलगायतका जोखिमहरु अझै टरिसकेका छैनन्।”

अवरुद्ध सडक संचालन गर्न सरोकारवाला निकाय तथा देशका विभिन्न स्थानमा सुरक्षा टोली परिचालन भएको छ। प्रवक्ता तिवारीले रोशी गाउँपालिकालगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन र राहत वितरण भइरहेको र घाइतेहरुको उद्धार र उपचार निःशुल्क भइरहेको जानकारी दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button