बीपी राजमार्गसहित आन्तरिक सडकहरू बगाउँदा जनजीवन अत्यन्त कष्टकर

रोशी गाउँपालिका–७ थान्सिङबेँसीस्थित अमरनाथ प्राविकी शिक्षिका अनिता गौतमले तत्कालीन समस्याहरू सडक, खाद्यान्न र सञ्चार रहेकोले राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले बाटो अवरुद्ध हुँदा खाद्यान्न र राहतमा समस्या थपिएको जनाउनुभयो। त्यसैगरी, रोशी गाउँपालिका–७ का अर्का स्थानीय लोकनाथ गौतमले बाढीपहिरोबाट ठूलो क्षति हुनुमा खानी र क्रसर उद्योगलाई दोष दिँदै राज्यले अवैध उद्योगहरूलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
असोज १० देखि १२ गतेसम्मको लगातारको वर्षाले आएको बाढीपहिराले गाउँबस्ती, सडक, पुल र विद्युत् संरचनामा व्यापक क्षति पु¥याएको छ, जसले यातायात, बिजुली र सञ्चार सेवा ठप्प छ। विपत्तिमा परी कयौँ व्यक्तिले ज्यान गुमाएका छन् भने घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। सडकमा यात्रा गरिरहेका यात्रुहरू बाटोमै अलपत्र परेका छन्, र उनीहरूले कठिन यात्रा भोगिरहेका छन्।
बाढीपहिराका कारण यहाँका नागरिकहरूको जीवन अत्यन्त कठिन बन्दै गएको छ। विशेषगरी रोशी खोला वरपरका बासिन्दाहरूले गम्भीर कष्ट झेलिरहेका छन्। यहाँका पसलहरूमा सामानहरूको अभाव रहेको छ, नयाँ सामान ल्याउन सक्ने अवस्था छैन। बिपी राजमार्गका विभिन्न खण्डहरू बाढीले क्षति पु¥याएपछि दैनिक हजारौँ सवारी साधन ठप्प छन्, जसले गर्दा यातायात अस्तव्यस्त छ।
बाढीपहिराले राजमार्ग मात्र होइन, आसपासका बस्तीहरू पनि सुनसान बनाएको छ। सडक, विद्युत्, खानेपानी पाइपजस्ता भौतिक संरचना ध्वस्त हुँदा नागरिकहरूलाई खाद्यान्न, बिजुली, सञ्चार र स्वास्थ्य सेवामा गम्भीर समस्या उत्पन्न भएको छ। त्यस्तै, रोशी खोला आसपासको खेतीयोग्य जमिन र लगाएको बालीनाली समेत बाढीले बगाएको छ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढीपहिरोले बाटो, विद्युत् र सञ्चार अवरुद्ध हुँदा समुदाय र पालिकाबीचको सम्बन्ध नै विच्छेद भएको जनाउनुभयो। तर, उद्धार र राहत कार्यमा पहिलो प्राथमिकता दिइरहेको र दसैँअघि वैकल्पिक मार्ग सञ्चालन गर्नका लागि काम भइरहेको उहाँले बताउनुभयो।
सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले निरन्तर स्काभेटरलगायतका उपकरणहरूको प्रयोग गर्दै अस्थायी वैकल्पिक बाटो निर्माण भइरहेको बताउनुभयो। अहिले बिपी राजमार्गको २० किलोमिटर क्षेत्रमा हेलिकप्टरमार्फत इन्धन ढुवानी गरेर काम भइरहेको छ। पछिल्ला तीन दिनमा चार किलोमिटर सडक मर्मत भइसकेको जनाइएको छ।
धुलिखेल–भकुण्डे–चौकीडाँडा सडकखण्ड सञ्चालनमा आएको र अन्य खण्डहरू मर्मत कार्य जारी रहेको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घाइतेहरूको उद्धार कार्य जारी रहेको जानकारी गराउँदै सर्वदलीय बैठकमार्फत विभिन्न १० वटा क्लस्टर निर्माण गरी आवश्यक क्षेत्रमा कार्य अघि बढाइएको बताउनुभयो।




