बाढी प्रभावित क्षेत्रको स्थिति बुझ्न गृहमन्त्री, भौतिक योजना मन्त्री र रक्षा मन्त्री सिन्धुलीमा पुगे

कमलामाई (सिन्धुली)- सिन्धुलीको बाढी प्रभावित क्षेत्रमा स्थलगत जानकारी लिन तीनजना संघीय मन्त्री यहाँ आइपुगेका छन्। गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट पुगेको हो।
उनीहरूले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे। रामेछापतर्फको ५१ मिटर बगाएको बेलीब्रिज पुनःसञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम सुरु गरिसकेको जानकारी दिइएको छ। मन्त्रीहरूको टोलीले सो कामको समेत निरीक्षण गरेको छ।
अहिले उनीहरूले बाढीपहिरोबाट भएको क्षति, सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत कार्यहरूबारे स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले र स्थानीयवासीहरूसँग छलफल गरिरहेका छन्। मन्त्रीहरूको सिन्धुपाल्चोकको चौतारातर्फ जाने योजना पनि रहेको छ।



