रानिमत्तामा गाडी दुर्घटनाः चारजनाको मृत्यु, २५ जना घाइते

सुर्खेत- सुर्खेत-दैलेख सीमा क्षेत्रको रानिमत्तामा फोर्स गाडी दुर्घटनामा परी चार जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, हिजो दिउँसो दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो।
घाइते २५ जनाको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ। प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माका अनुसार, “चार जनाको घटनास्थलमै मृत्यु भएको छ, र २५ जना घाइतेलाई अस्पताल पुर्याएका छौं। केहीको अवस्था गम्भीर छ, र दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छौँ।”
गाडी सडकबाट झण्डै दुई सय मिटर तल खसेकाले अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। गाडीमा २९ जना यात्रु सवार थिए।




