दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

दाङ- शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुखाइको समस्याले पीडित हुनुहुन्थ्यो। तीव्र दुखाइको कारण शुक्रबार नेपाली सेना रणसिंह दल गणद्वारा आफ्नै गाउँमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा उहाँ उपचारका लागि पुग्नुभयो।
उहाँले भन्नुभयो, “गाउँमै सजिलो र निःशुल्क स्वास्थ्य परीक्षण गराएँ, औषधि पनि पाएँ। यसले खुसी तुल्याएको छ र अब निको हुने आशा पलाएको छ। घर नजिक अस्पताल छैन, विशेषज्ञ सहितका डाक्टर गाउँमा आउँदैछन् भन्ने थाहा पाएपछि यहाँ आएको हुँ, राम्रो सेवा पाइयो।”
यसैगरी, दङ्गीशरण गाउँपालिका–७ की ६५ वर्षीया माइली थरुनी पनि शिविरमा मिर्गौला समस्याको उपचारका लागि आइपुग्नुभयो। गाउँमै निःशुल्क स्वास्थ्य सेवा, परीक्षण, उचित सल्लाह र औषधि पाउँदा उहाँले खुसी व्यक्त गर्नुभयो।
स्थानीय शोभा नेपालीले पनि शिविरमा निःशुल्क सेवा पाउँदा धेरै राहतको अनुभव गरेको बताउनुभयो। विपन्न परिवारलाई लक्षित गर्दै नेपाली सेना र शान्तिनगर गाउँपालिकाले गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराएको थियो। शोभा नेपालीले आर्थिक अभावका कारण ठूला अस्पतालमा जान नसकेको पीडा पोख्नुभयो।
शिविर नेपाली सेना श्री नं १९ बाहिनी अड्डा तुलसीपुरको समन्वयमा रणसिंहदल गण घोराही, शान्तिनगर गाउँपालिका, र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती आँखा अस्पताललगायत संस्थाहरूको सहकार्यमा शान्तिनगर गाउँपालिका–५ बैसामा आयोजना भएको हो, जसमा सयौँ नागरिकले स्वास्थ्य परीक्षण गराएका छन्।
वाहिनीपति सहायक रथी पदमबहादुर बुढाले आर्थिक कारणले उपचार सेवा नपुगेका नागरिकलाई सहयोग पुर्याउन शिविरको आयोजना गरिएको बताउनुभयो। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले स्थानीय जनताको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको उल्लेख गर्दै विशेषज्ञ सेवासहितको निःशुल्क शिविरको उद्देश्य खुलाउनुभयो।
शिविरमा दुई जटिल अवस्थाका बिरामीको निःशुल्क शल्यक्रिया आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने भएको छ। सात सय ४२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। अध्यक्ष बस्नेतले गम्भीर बिरामीलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारका लागि पठाइने जानकारी दिनुभयो। शिविरमा स्त्रीरोग, छालारोग, आँखा, दाँत, हाड–जोर्नी लगायतका विशेषज्ञ सेवा प्रदान गरिएको थियो।



