प्रधानमन्त्रीले अस्थिरता, अराजकता, र भ्रष्टाचारका विरूद्ध संगठित ढंगले क्रियाशील हुन आह्वान गरेका छन्।

झापा- प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता, र भ्रष्टाचारको विरुद्ध सचेत, संगठित, र सक्रिय रहन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
एमाले झापा जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले झापा विद्रोहको ऐतिहासिक योगदानलाई स्मरण गर्दै शान्तिपूर्ण आन्दोलनको क्रममा पनि क्रान्तिकारी विचारधारालाई नछाड्नेमा जोड दिएका हुन्।
पार्टीभित्र एकता र अनुशासनलाई मजबुत बनाउन तथा व्यक्तिगत रूपमा उच्च नैतिकता कायम गर्नुपर्ने कुरामा जोड दिँदै उनले भने, “हामी देशको परिवर्तनका लागि प्रतिबद्ध छौं। गरिबी र पछौटेपन हटाउन ठूला प्रयास आवश्यक छन्, र यो काम एमालेले मात्रै गर्न सक्छ। अहिलेको संयुक्त सरकार पनि यही उद्देश्यमा लागिपरेको छ।”
अध्यक्ष ओलीले जनतासँगको सम्बन्धलाई निरन्तर सुदृढ गर्दै, जनताका समस्या समाधान गर्न सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिए। साथै, उनले एमालेलाई भ्रष्टाचारविरुद्धको उदाहरणीय पार्टी बनाउने प्रयास गर्नुपर्ने र सामाजिक सञ्जालमा विरोधीहरूको गलत आरोपलाई दृढतापूर्वक खण्डन गर्न आग्रह गरे। पार्टीभित्रको विवाद सार्वजनिक रूपमा टिप्पणी नगर्न पनि उनले सचेत गराए।
‘बिआरआईबाट देशलाई फाइदा हुनेछ’
प्रधानमन्त्री ओलीले आफ्नो हालैको चीन भ्रमणको क्रममा भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्क सम्झौताबाट देशले लाभ उठाउने स्पष्ट पारे। उनले वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै सहकार्य र सहयोगमा जोड दिएको उल्लेख गरे।
उनले भने, “सरकार देशको आर्थिक अवस्थाप्रति सजग छ। हामी ऋण लिएर फजुल खर्च गर्ने सोचमा छैनौं। उत्पादन वृद्धि गर्ने र दिगो विकासलाई प्रोत्साहन गर्ने रणनीतिमा छौं। बिआरआईलाई केवल ऋण वा सहयोगको रूपमा नभई समग्र विकासको अवसरका रूपमा बुझ्नुपर्छ। हामीले हाम्रो विकासका लागि उपयोगी हुने कार्यहरूमा ध्यान दिनुपर्छ।”



