मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा. भीमबहादुर रावलले आफ्नो पार्टी सदस्यता समाप्त गरिएको निर्णयप्रति असहमति जनाउँदै यो कदम दलको विधान, विधि, र प्रक्रियाविपरीत रहेको दाबी गर्नुभएको छ।
पार्टीबाट निस्कासनपछि पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो धारणा स्पष्ट पार्दै भन्नुभयो, “मैले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने योजना बनाएको छु। यस क्रममा शुभचिन्तक, शुभेच्छु, र आम जनताबाट प्राप्त हुने सद्भाव र समर्थनका आधारमा आफू अघि बढ्नेछु।”
पार्टीको सचिवालय बैठकले पुस १० गतेको निर्णयमार्फत डा. रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो। एमालेमा रहँदा डा. रावलले उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, गृहमन्त्री, र रक्षामन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्हाल्नुभएको थियो। पार्टीभित्र उहाँलाई राष्ट्रवादी नेता मानिन्थ्यो र उहाँ ११औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशीसमेत हुनुहुन्थ्यो।
वि.सं. २०३२ मा सदस्यता लिएपछि डा. रावलले देश, जनता, स्वाभिमान, र सिद्धान्तप्रति इमान्दार रहँदै पार्टीभित्र विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएको थियो। आजको पत्रकार सम्मेलनमा उहाँले आफ्नो राजनीतिक यात्रा, सामना गरेका चुनौतीहरू, र भविष्यका योजनाहरूबारे विस्तृत रूपमा चर्चा गर्नुभएको छ।




