नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजबाट सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजबाट सुरु हुँदै छ । राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउँदै आएको एमालेले यसपटक भने नीति तय गर्न अलग्गै विधान महाधिवेशनको गर्न लागेको हो ।
महाधिवेशन ललितपुरको गोदावरीमा तीन दिनसम्म चल्ने छ । महाधिवेशन मुल आयोजक समितिका अनुसार ७ हजार क्षमताको हल व्यवस्थापन गरिएको छ ।
महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव पेश हुनेछन । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो सवा १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
एमालेले विधान महाधिवेशन प्रतिनिधिहरुलाई सातदोबाटोबाट महाधिवेशन स्थलसम्म बसमा लैजाने व्यवस्था मिलाएको छ । त्यस्तै प्रतिनिधिहरुलाई बिहान हाइजेनिक खाना र दिउँसो खाजाको व्यवस्था गरिएको व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
तीन दिनसम्म चल्ने विधान महाधिवेशनको उद्घाटन सत्रलाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । बन्दसत्रमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
प्रतिवेदनहरुमाथि समूहगत छलफल हुने र समूहका नेताबाट निष्कर्ष प्रस्तुत् हुनेछ । समूह नेताहरुबाट आएको सुझावका आधारमा प्रतिवेदन पारित गरिने भएको छ ।




