कोशीमा उच्च रक्तचापका बिरामीहरूको संख्या बढ्दै, झापा सबैभन्दा प्रभावित।

धनकुटा, १४ पुसः कोशी प्रदेशमा नसर्ने रोग जस्तै उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास र दम रोगका बिरामीहरूको संख्या बढ्दै गएको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जानकारी दिएको छ।

कोशी प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा उच्च रक्तचापका बिरामीहरूको संख्या १ लाख ४४ हजार १३९ थियो, जुन यस वर्ष २०८०/८१ मा डेढ लाख बढीको वृद्धिसँग २ लाख ९७ हजार ५७ पुगेको छ।

त्यस्तै, मधुमेह (चिनी रोग) का बिरामीहरूको संख्या अघिल्लो वर्ष १ लाख ८६ हजार ३ सय ८७ रहेकोमा, चालु आर्थिक वर्षको पाँच महिनामा १५ हजार ३ सय ३९ पुगेको छ।

धुवाँ, धूलो र धूमपानबाट हुने दीर्घकालीन श्वासप्रश्वास रोग (COPD) तेस्रो स्थानमा रहेको छ। यस प्रकारका रोगबाट ५५ हजार ९ सय ५९ जना प्रभावित भएका छन्। चालु आर्थिक वर्षको पाँच महिनामा ४ हजार ७ सय ७८ जना श्वासप्रश्वासका रोगी भेटिएका छन्।

मानसिक रोगको संख्या ३३ हजार ३ सय ३१ र दम रोगको बिरामी संख्या ३१ हजार ७ सय ४९ रहेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा १ हजार ३ सय १७ जना मानसिक रोगबाट पीडित भएको जानकारी दिइएको छ। कुल रूपमा कोशी प्रदेशमा ६ लाख ४९ हजार ३ सय ८२ जना उच्च रक्तचाप, मधुमेह, दमजस्ता नसर्ने रोगबाट प्रभावित भएका छन्।

स्वास्थ्य कार्यालयका निर्देशक डा. सुरेश मेहताका अनुसार उच्च रक्तचापको समस्या ३५ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिहरूमा बढी देखिएको छ।

झापा जिल्लामा मात्र २०८०/८१ को आवमा ९९ हजार १ सय ७३ जना रक्तचापबाट प्रभावित भएका छन्। मोरङमा ५२ हजार ४ सय ५०, इलाममा ३८ हजार ७ सय २२, सुनसरीमा ३५ हजार ७ सय ८० र उदयपुरमा ११ हजार ३ सय ३४ जना रक्तचापका बिरामी रहेका छन्।

डा. मेहताका अनुसार, घरमा पका रेशादार र हरियो सागसब्जी खानेबाहेक होटल र बजारका खानामा बढी ध्यान दिनु, दैनिक आहारविहार र व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिने, साथै मादकपदार्थ र धूमपानको लत लाग्नुका कारण उच्च रक्तचापका बिरामीहरूको संख्या बढेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button