दर्जन टुक्रा भइसके माओवादी

काठमाडौं- कहिल्यै  समाज सुधार्ने, देश निर्माण गर्ने र सर्वहारा वर्गका लागि स्वर्ग बनाउने आशा राखिएको माओवादी आन्दोलन अहिले ११ भागमा विभाजित भइसकेको छ। कुनै समय एकताबद्ध रहेको माओवादी आज टुक्राटुक्रा भई व्यक्तिगत नेतृत्व र परिवारवादमै सीमित बनेको छ।

प्रचण्डको नेतृत्वमा सुरु भएको माओवादी आन्दोलन बिस्तारै बिभाजन हुँदै गयो। अहिले एक पार्टीबाट ११ वटा माओवादी दल जन्मिएका छन्। नेपालमा हाल १९ वटा कम्युनिष्ट पार्टीहरू क्रियाशील देखिन्छन्। राजनीति विश्लेषकहरू भन्छन्— यी दलहरूमा एकता हुनु भ्यागुताको धार्नी बाँध्नु जत्तिकै असम्भव छ।

बिभाजनको प्रमुख कारण नेताहरूको व्यक्तिगत महत्वाकांक्षा र अहंकार हो। १८४८ मा कार्ल माक्र्सले कम्युनिष्ट आन्दोलनको जग बसालेका थिए, तर नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७६ वर्ष पूरा भइसकेको छ। १९४९ सेप्टेम्बर १५ मा पुष्पलाल श्रेष्ठले भारतमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए।

२०६५ मा राजतन्त्र फालियो, संघीयता लागू गरियो, नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो— तर प्रश्न उठ्छ, यी परिवर्तनहरूले जनताले के पाए? समानता र अवसरको नारा दिए पनि ती व्यवहारमा लागू भएनन्।

राजनीति नै व्यापार बन्दै गएको, कुशासन हावी भएको, राजनीति अपराधीकरण भैरहेको आरोप आम जनताले लगाउँदै आएका छन्। संविधानसभा चुनावमा पहिलो स्थानमा रहेको माओवादी पार्टी अहिले ३२ सिटमा खुम्चिएको छ।

फुटेका माओवादी पार्टीहरू:

1. नेकपा माओवादी केन्द्र – पुष्पकमल दाहाल ‘प्रचण्ड’
2. नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) – डा. बाबुराम भट्टराई
3. नेस पार्टी – महेन्द्र राय यादव
4. नेकपा – नेत्रविक्रम चन्द ‘विप्लव’
5. आमजनता पार्टी – प्रभू साह
6. क्रान्तिकारी कम्युनिस्ट – मोहन वैद्य
7. नेकपा बहुमत – धमेन्द्र बाँस्तोला
8. नेकपा माओवादी – गोपाल किराँती
9. वैज्ञानिक समाजवादी पार्टी – विश्वभक्त दुलाल ‘आहुती’
10. नेकपा संयुक्त – चन्द्रदेव जोशी
11. एमालेकरण भएका नेता – रामबहादुर थापा ‘बादल’

माओवादी केन्द्र १९९४ मा एकता केन्द्रबाट अलग भएर बनेको हो। यो दलमा अहिले ३२ सांसद छन्। बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी, महेन्द्र राय यादवको नेस पार्टी, विप्लवको नेकपा, मोहन वैद्यको क्रान्तिकारी माओवादी जस्ता पार्टीहरू पूर्व माओवादी आन्दोलनकै टुक्रा हुन्।

प्रचण्डले माओवादी एकताको प्रयास गर्दै समाजवादी मोर्चा बनाएका छन्, तर यो मोर्चा नाममै सीमित देखिएको छ। विप्लव, बादल, मोहन वैद्य, बाबुराम भट्टराई लगायतका नेताहरू आ-आफ्ना बाटो लागिसकेका छन्।

अबको प्रश्न भनेको माओवादी आन्दोलनले भविष्यमा आफ्नो पुरानो प्रभाव पुनः स्थापित गर्न सक्ला कि सक्दैन? फुटेको माटोको भाँडो जस्तो माओवादी पुनः जोडिने सम्भावना कमजोर देखिन्छ। प्रचण्डले २०८४ को चुनावमा पुनः एकताबद्ध लहर ल्याउने प्रयास गरिरहेका छन्, तर जनताले कति विश्वास गर्ने हुन्, त्यो भने समयले नै बताउने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button