भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

भारत – भारतले ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा लक्षित हवाई आक्रमण गरेको पुष्टि गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरू आतंकी गतिविधिहरूको योजना बनाउने तथा निर्देशन दिने केन्द्रहरू थिए, जहाँबाट भारतमाथि आतंकी हमला गरिने तयारी भइरहेको थियो।
यो हवाई आक्रमण अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको एक भीषण आक्रमणपछि गरिएको हो, जसमा कम्तीमा २६ जना पर्यटकको ज्यान गएको थियो। भारतले सो हमलाको सीधा दोष पाकिस्तानलाई दिएको छ, र त्यसको प्रतिशोधस्वरूप ‘अपरेशन सिन्दूर’ सञ्चालन गरिएको बताएको छ।
भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा यो कारबाही “पूर्णरूपमा लक्षित र सटीक” रहेको बताइएको छ। दूतावासका अनुसार, आक्रमणको क्रममा केवल पहिचान भइसकेका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो, जसमा कुनैपनि सर्वसाधारणलाई हानी नपुग्ने सावधानी अपनाइएको थियो।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई “युद्धको घोर उक्साहट” भन्दै कडा निन्दा गरेका छन्। उनले पाकिस्तान यो कारबाहीलाई चुपचाप सहन तयार नरहेको भन्दै “बलियो र प्रभावकारी जवाफ” दिने चेतावनी दिएका छन्। पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायलाई पनि भारतको आक्रामक व्यवहारविरुद्ध सचेत गराएको छ।
संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आह्वान गरेको छ। उसले विशेष रूपमा चेतावनी दिँदै भनेको छ, “भारत र पाकिस्तान दुबै आणविक शक्ति भएका राष्ट्रहरू हुन्। उनीहरूबीचको प्रत्यक्ष सैन्य संघर्ष केवल दक्षिण एशियाको लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि गम्भीर खतरा हुन सक्छ।”
‘अपरेशन सिन्दूर’ को घटनाले दक्षिण एशियाली क्षेत्रमा पुनः तनाव बढाएको छ। भारतले आफ्नो सुरक्षा सुनिश्चित गर्ने उद्देश्यसाथ कारबाही गरेको दाबी गरेको छ भने पाकिस्तानले यसलाई आक्रमणका रूपमा व्याख्या गर्दै प्रतिकारको तयारी थालेको छ। अबको अवस्था दुबै मुलुकका कूटनीतिक कदम र अन्तर्राष्ट्रिय दबाबमा निर्भर रहनेछ।




