काठमाडौंका यी ठाउँहरूमा आजदेखि भेरोसेलको दोस्रो डोज लगाइदै
काठमाडौंमा आजदेखि भेरोसेल खाेपकाे पहिलो डोज लगाएकाहरूलाइ दोस्रो डोज लगाइने भएकाे छ । यसअघि भेरोसेलको पहिलो डोज लगाएका ५० वर्ष वा सो भन्दा माथि उमेरका समूहका सबैलाई दोस्रो डोज दिइनेछ।
काठमाडौंका सबै वडा र स्थानीय तहका १ सय ४६ खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ। राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा गएर पनि दोस्रो डोज लगाउन सकिने कार्यालयले जनाएको छ।
पहिलो डोज खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बर लगेर खोप लगाउन जान कार्यालयले अनुरोध गरेको छ। दोस्रो डोजको भेरोसेल खोप भदौ १३ गतेसम्म लगाइनेछ। अत्यावश्यक सेवामा कार्यरत व्यक्ति, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो डोज लगाउन छुटेका नागरिकलाई पनि दोस्रो डोज दिइने कार्यालयले जनाएको छ।



