१४ सांसद् पदमुक्तको सूचना नटाँसेसम्म एमालेले संसद चल्न नदिने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ ।

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले पदमुक्त सांसद्को सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सर्त तेर्साउँदै आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको हो ।

‘एमालेको निर्णयअनुसार १४ सांसद्लाई सभामुखज्यूले अझै पदमुक्तको सुचना टाँस गर्नु भएको छैन, सुचना टाँस नगर्ने भए राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने अडान कायमै छ,’ प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘यी दुईवटा सर्त स्वीकार नगरेसम्म एमालले प्रतिनिधिसभा बैठकमा निरन्तर रुपमा अवरोध गरिरहने छ ।’

उनका अनुसार सर्वदलीय बैठकमा दलहरूले दिएको सुझावलाई पनि सभामुख सापकोटाले स्वीकार गरेका छैनन् ।

माधवकुमार नेपालसहित १४ जना सांसद्लाई पदमुक्त गरेर कारबाही गरेको पत्र संघीय संसद् सचिवालयमा दर्ता गरे पनि यसको सभामुख सापकोटाले १३ दिनसम्म सूचना टाँस नगर्दा पार्टी विभाजन भएको एमालेको बुझाइ रहँदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button