शरणार्थी प्रकरणको अनुसन्धान गर्न कुनै दबाब छैन

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का तथा जनवर्गीय सङ्गठनका नेताहरूसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले भने, “निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन् ।” यो कार्य सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको र अझ त्यो भन्दा बढी यो राज्य विरुद्ध कै अपराध भएको उनको भनाइ थियो ।
“यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो, यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्य विरुद्ध कै अपराध हो”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “यसकै सबै नेक्ससलाई कानूनी कारबाहीको दायरामा ल्याउनेतर्फ हामी अगाडि बढेका छौँ ।”
उनले उक्त प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख गर्दै दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पु¥याइने दृढता व्यक्त गरे । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट आफूले दह्रो साथ र आड भरोसा पाएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।
“मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस्, उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन, दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ”, श्रेष्ठले भने, “प्रधानमन्त्रीको निर्देशन र आड भरोसा छ, दोषीलाई कारबाही गरियोस् निर्दोषनपरुन् भन्ने छ ।”
सिङ्गो देश भ्रष्टाचार र कमिसनले आक्रान्त बनेकाले त्यसबाट मुक्त गराउन प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको उनको भनाइ थियो ।  उनले थपे, “राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button