स्वास्थ्यमन्त्री बस्नेत र मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति :राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौँ –राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यमन्त्री मोहन बस्नेतदेखि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

शुक्रबार आयोगले विज्ञप्ति सार्वजनिक गर्दै मेयर शाहले सामाजिक सञ्जालमार्फत सिंहदरबारमा आगो लगाइदिन्छु भनी लेखेको र मन्त्री बस्नेतले कर्मचारीलाई आत्महत्या गर्ने भए डोरी किनिदिन्छु भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

आयोगको विज्ञप्तिमा लेखिएको छ,“काठमाडौँका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सिंहदरबारमा आगो लगाइदिन्छु भनी लेखेको, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कर्मचारीलाई आत्महत्या गर्ने भए डोरी किनिदिन्छु भनेको, ताप्लेजुङमा कोशी प्रदेशसभा सदस्य खगेन सिं हाङ्गामले सुरक्षा निकायका प्रमुखलाई सार्वजनिक स्थलबाटै धम्की दिएको पाइएको छ। नेपालको संविधान र मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनहरूले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए तापनि अरुको मर्यादामा आँच आउने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न सकिँदैन ।“

त्यस्तै आयोगले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा सांघातिक आक्रमण जस्ता अन्य घटनाहरूले शान्तिसुरक्षामा समेत आँच पुग्न गइ राज्य संयन्त्रप्रति नै अविश्वास पैदा हुने संभावना भएकाले छानबिन गरी कारबाहीको लागि माग गरेको छ ।

कानूनको शासन र मानव अधिकारको प्रत्याभूतिका लागि यसप्रकारका गतिविधि र घटनामा संलग्न आरोपितलाई कानूनबमोजिम कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न, गराउन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button