आज बडादसैंको दोस्रो दिन, मान्यजनको हातबाट टीका जमरा लगाइँदै

काठमाडौं – आज विजयादशमी अर्थात बडादसैंको दोस्रो दिन । मान्यजनको हातबाट आज पनि टीका जमरा लगाइँदै छ ।
हिजो नवदुर्गाको प्रसादका रूपमा टीकाजमरा र आशीर्वाद लिन नपाएकाहरुले आज पनि मान्यजनबाट आशीर्वाद लिने क्रम चलेको छ ।
उत्तम साइतमा टीका लगाउन नपाउनेहरुका लागि देवी विसर्जनको साइत सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न कोजाग्रत पूर्णिमासम्म बाधा नहुने र जुनसुकै बेला पनि टीका ग्रहण गर्न सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ ।
असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बडा दसैं मनाइने गरिन्छ। यो क्रम कोजाग्रत पूर्णिमासम्म चलिरहन्छ ।
त्यस्तै गरी राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा हिजो दिउँंसो राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाई दिनुभएको छ ।
उहाँले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, सांसदहरू, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारीलगायतलाई शीतल निवासमा अपराह्न २ देखि ३ बजेसम्म टीका जमरा लगाइदिनुभयो ।
राष्ट्रपति पौडेलले हिजै दिउँसो ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई पनि टीका–जमरा लगाइदिनुभयो ।




