आज माघे सङ्क्रान्ति चाड मनाइँदै

काठमाडौं- माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । यस चाडलाई विभिन्न कार्यक्रम आयोजना गरी नेपाल र भारत देशमा मनाईन्छ ।
नेपालमा थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।
आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा पनि आज मेलासमेत लाग्ने गर्छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।



