आज मुस्लिम धर्मलम्बीहरुको विशेष चाड ईद उल फित्र

काठमाडौं- आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् ।
ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ। हिजरी संवतको रमदान महिनाभर रोजा बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।
ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।
नेपाल भरमा रहेका मुस्लिम समुदायहरुले मस्जितहरुमा गई धार्मिक ग्रन्थ कुरानबाट धर्मगुरुले वाचन गरेर सत्य विचार सहित साँचो काम गर्न लगायत विभिन्न आत्मिक शिक्षाहरु प्रदान गर्छन् ।
ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।



