क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने :महान्यायाधिवक्ता कार्यालय

काठमाडौँ- महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार उच्च अदालतको फैसला सन्तोषजनक भएकाले सर्वोच्च अदालतमा पुनरावेदन नजाने निर्णय भएको हो।
प्रवक्ता दाहालले भने, “उच्च अदालतको फैसला चित्त बुझ्यो भने नेपाल सरकारले पुनरावेदनमा जाँदैन, त्यसैले क्रिकेटर लामिछानेको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरिएको छ।”
असोज १० गते महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत पाटनको फैसलालाई समर्थन गर्दै पुनरावेदनमा नजाने निर्णय गरेको थियो। उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जेठ २ गते प्रमाण र आधार नपुगेकाले लामिछानेलाई सफाइ दिने फैसला गरेको थियो, जसको पूर्णपाठ साउन ४ गते सार्वजनिक भएको थियो।
फैसलामा प्रतिवादी लामिछानेविरुद्ध लगाइएको अभियोग प्रमाणित नभएको उल्लेख गरिएको छ। घटनाका आधार, शारीरिक परीक्षण प्रतिवेदन, म्यासेजहरू, तथा घटनास्थलका अन्य प्रमाणहरूको विश्लेषणपछि अभियोग पुष्टि नहुने ठहर गरिएको हो।
साथै, फैसलामा पीडितले प्रतिकार गरेको वा चिच्याएको प्रमाण नदेखिएको र करणी सहमतिमा भएको हुनसक्ने निष्कर्ष गरिएको छ। फैसलाले पीडितको आर्थिक सहयोगको माग र प्रतिवादीले सहयोग नगरेपछि उजुरी परेको हुनसक्ने सम्भावना औंल्याएको छ।




