माओवादी केन्द्रले स्थानीय तहहरूबाट खबरदारी अभियान सञ्चालन गर्दै

हेटौँडा (मकवानपुर)- पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले सम्पूर्ण स्थानीय तहहरूबाट खबरदारी अभियान सञ्चालनको तयारी गरिरहेको जानकारी दिनुभयो।
आज प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले जनतासम्म पुग्न देशव्यापी अभियान सुरु गर्ने कुरा व्यक्त गर्नुभयो। सरकारबाहिर रहेकाले जनतासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न सजिलो भएको र केही कमजोरी सुधार्दै परिवर्तनको पक्षमा दृढताका साथ अघि बढ्ने धारणा व्यक्त गर्नुभयो।
देशमा बढ्दो भ्रष्टाचार र अन्य विकृतिहरू अन्त्य गर्न वर्तमान निर्वाचन प्रणाली र शासन प्रणालीमा परिवर्तन आवश्यक रहेकोमा अध्यक्ष दाहालले जोड दिनुभयो। उहाँका अनुसार, चुनावमा ठूलो धनराशि खर्च गर्नु भ्रष्टाचारको मूल कारण हो, जसलाई अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणालाई अघि सारिएको स्पष्ट गर्नुभयो।
अध्यक्ष दाहालले शासकीय प्रणालीमा परिवर्तन नहुँदासम्म नेपालमा स्थायित्व कायम नहुने धारणा व्यक्त गर्नुभयो। सहकारी ठगी प्रकरणमा निष्पक्ष अनुसन्धानको आवश्यकता औंल्याउँदै, सरकारको कामप्रति असन्तुष्टि जनाउँदै नेकपा माओवादीले अब सबै पालिकाबाट खबरदारी अभियान सुरु गर्न लागेको जानकारी दिनुभयो।




