आयोगको निर्देशन: उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा

काठमाडौँ- निर्वाचन आयोगले यही मङ्सिर १६ गते तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि आवश्यक मतदान स्थल उपलब्ध गराउन निर्देशन जारी गरेको छ। आयोगले मङ्सिर १३ देखि १६ गतेसम्म मतदान सम्पन्न नहुन्जेलसम्मका लागि पूर्वनिर्धारित मतदान स्थल प्रदान गर्न आग्रह गरेको हो।
आयोगले सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान र अन्य सार्वजनिक स्थलहरूलाई निर्वाचन प्रयोजनका लागि उपयोग गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ।
आइतबार बसेको आयोगको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउनका लागि आवश्यक व्यवस्थाहरू मिलाउन निर्देश दिएको छ। बैठकले मतदान स्थल उपयोग गर्नका साथै उपनिर्वाचन हुने क्षेत्रमा सार्वजनिक बिदा दिनसम्बन्धी व्यवस्था गर्न पनि सुझाव दिएको छ। आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले यसबारे जानकारी दिनुभएको हो।
त्यस्तै, मतदाताहरूलाई मतदान गर्न सहज वातावरण उपलब्ध गराउन सार्वजनिक बिदा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाउन स्थानीय तह तथा जिल्लास्तरीय निजी क्षेत्रका औद्योगिक, शैक्षिक र अन्य प्रतिष्ठानलाई आयोगले आह्वान गरेको छ।
मतदान प्रक्रियामा सहजीकरणका लागि आयोगले मतदाता परिचयपत्रबाहेक अन्य सरकारी कागजातका आधारमा मतदान गर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको छ। आयोगले जारी गरेको निर्देशनअनुसार मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर (PAN) परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणलाई अन्तिम मतदाता नामावलीसँग मिलान गरी मतदान प्रक्रिया सम्पन्न गरिने छ।
आयोगले यही मङ्सिर १६ गते आइतबार बिहान ७ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न सबै मतदाताहरूलाई आह्वान गरेको छ।



