ओलीमाथि चौतर्फी प्रश्न: रावलको कडा आलोचना, दाहालको आक्रोश

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले अन्यलाई प्रश्न गर्दा स्वयंमाथि प्रश्नहरूको बाढी आइरहेको चर्चा भइरहेको छ।
सधैं आफ्नो कार्य मात्र सही भन्ने मानसिकताबाट ग्रस्त ओलीले गरेका निर्णयहरू उल्टै विवादित बन्ने क्रम जारी छ। हालै ओलीले नेता भीम रावलमाथि पार्टीको निर्देशन अवज्ञा गरेको आरोप लगाउँदै प्रश्न उठाएका थिए। यसको जवाफमा रावलले ओलीलाई प्रश्नै प्रश्नको भारीले प्रतिवाद गरे।
ओलीको नेतृत्व शैलीलाई आलोचना गर्दै रावलले आफ्नो दलभित्रका निर्णयहरूमाथि कहिल्यै प्रश्न सहन नसक्ने प्रवृत्ति देखाएको आरोप लगाए। पार्टीभित्र प्रतिस्पर्धालाई नष्ट गर्ने उद्देश्यले गरिएको निर्णयले ओलीलाई थप विवादमा ल्याएको छ।
पुस ६ गते एमालेले रावललाई पार्टीबाट हटाउने निर्णय गरेको थियो। नीति विपरीत कार्य गरेको आरोपमा साधारण सदस्यबाट पनि हटाइएको यो कदमलाई ओलीको व्यक्तिगत स्वार्थसँग जोडिएको व्याख्या गरिएको छ।
रावलले पत्रकार सम्मेलनमार्फत ३१ पृष्ठ लामो दस्तावेज सार्वजनिक गर्दै ओलीको कार्यशैली र निर्णयप्रति गम्भीर प्रश्न उठाए। उनले ७२ वटा बुँदामा ओलीका कदमहरूलाई चुनौती दिएका छन्। विशेष गरी वाम गठबन्धन हुँदा उपेन्द्र यादवलाई सरकारमा सामेल गराएको, पार्टी नेतृत्वको कार्यदलको सुझाव बेवास्ता गरेको, प्रधानमन्त्री हुने सहमतिहरू गोप्य राखेको, र पार्टी विभाजनतर्फ अग्रसर गराएको विषयमा प्रश्न उठाएका छन्।
रावलले ओलीमाथि आरोप लगाउँदै भने, “तानाशाही सोचको कारण ओलीले दललाई निजी कम्पनीजस्तो बनाएर चलाउन खोजिरहेका छन्।” साथै, उनले ओलीको राष्ट्रवादी छवि खोक्रो भएको, स्वार्थमा आधारित निर्णयहरू गरेको, र वामपन्थी एकताको मर्ममाथि प्रहार गरेको आरोप लगाएका छन्।
पत्रकार सम्मेलनमा रावलले गुठी विधेयक, एमसीसी, र अन्य विवादास्पद निर्णयहरूबारे पनि प्रश्न उठाउँदै ओलीलाई नैतिक जिम्मेवारी लिन आग्रह गरे। उनले पार्टीका नीतिहरूलाई वेवास्ता गर्दै विदेशी प्रभावमा परेर निर्णय गरेको भन्दै आलोचना गरे।
ओलीको आलोचना गर्ने क्रम नरोकिने संकेत गर्दै रावलले “लोकतन्त्र र वाक स्वतन्त्रतामाथि ओलीका कदम खतरनाक छन्” भने। साथै, अरू दल र नेताहरू पनि ओलीको एकल निर्णयप्रणालीको आलोचना गर्दै लोकतन्त्र खतरामा पर्नसक्ने चिन्ता व्यक्त गरिरहेका छन्।



