उपत्यकामा गम्भीर वायु प्रदूषण, काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौँ – उपत्यकामा आज वायु प्रदूषणको अवस्था गम्भीर रहेको छ। विश्वभरका सहरहरूको वायु गुणस्तर मापन गर्ने “आईक्यू एअर” का अनुसार अनुसार, आज बिहान ११:२८ बजे काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (AQI) १८३ पुगेको छ, जसले काठमाडौँलाई विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा सूचीकृत गरेको छ।

वातावरण विभागका अनुसार, पोखराको वायु प्रदूषण १९० AQI पुगेको छ, जुन नेपालमा सबैभन्दा उच्च हो। काठमाडौँको शंखपार्क र भरतपुरमा पनि वायु प्रदूषण १८२ AQI मापन गरिएको छ।

काठमाडौँ महानगरपालिकाले वायु प्रदूषण नियन्त्रणका लागि सवारी साधनहरूको प्रदूषण जाँचलाई तीव्र पारेको छ। हालसम्म ९४५ सवारी साधनको परीक्षण गर्दा ५१५ ओटा सवारी साधन मापदण्ड विपरीत फेल भएका छन्। फेल भएका सवारी साधनलाई मर्मत गर्न सुझाव दिइएको छ, र मर्मत नगर्नेहरूलाई ५०० रुपैयाँ जरिवाना तिराइएको छ।

वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ। विशेषगरी श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरूमा दम बढ्ने, खोकी बढ्ने, र फोक्सोमा संक्रमणको जोखिम बढ्ने चिकित्सकहरूले बताएका छन्। त्यसैले, सकेसम्म घरभित्रै बस्न र बाहिर निस्कँदा मास्कको प्रयोग गर्न सुझाव दिइएको छ।

वातावरणीय सुधारका लागि सवारी साधनहरूको नियमित मर्मतसम्भार, विद्युतीय सवारी साधनको प्रयोग, र हरियाली बढाउन आवश्यक रहेको विज्ञहरूले बताएका छन्। साथै, प्रदूषण नियन्त्रणका लागि सरकारी निकायहरू र सर्वसाधारणबीच सहकार्य आवश्यक छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button